चीनमा जारि एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ ।
आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको थियो । तर माल्दिभ्सले २ बल खेल्न बाँकी हुँदै ७४ रनमा अलआउट भएको छ ।
यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो।
समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालले अब भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए । फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए ।
माल्दिभ्स विरुद्द नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३.४ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले २७ बलमा समान ३.३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे ।
गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए ।
नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।
बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए ।