पश्चिम नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँदेखि भैरहवासम्मको यात्रा गर्न आग्रह गरेका छन् । एक कार्यक्रमका लागि पश्चिम नवलपरासी पुगेका थापाले सडकको दुरावस्थाका कारण दैनिक सयौँ नागरिकले सो सडकखण्डमा सास्ती भोग्नुपरेको बताउँदै प्रधानमन्त्रीलाई गएर अनुगमन र अनुभव लिन आग्रह गरेका हुन् ।
महामन्त्री थापाले प्रधानमन्त्रीलाई अहिले गठन भएको कार्यसम्पादन टोलिसहित भ्रमण गर्न आग्रह गरेका छन् । त्यस्तै उनले हुलाकी राजमार्गको अवस्था पनि उस्तै भएको भन्दै सरकारले पूर्वाधार निर्माणमा तदारुकता नदिएको आरोप लगाए । ‘मैले गत माघमै यात्राका क्रममा देखिएका समस्याहरु प्रतिवेदन बनाएर बुझाएको थिएँ । जसमा यी सडकखण्डपनि समावेश भएका थिए । तर यसतर्फ कसैको चासो देखिएन ।’, महामन्त्री थापाले भने ।
पश्चिम नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्गको काम समयमै सम्पन्न नभएको भन्दै प्रतापपुर गाँउपालिका अध्यक्ष उमेश चन्द्र यादव शुक्रबार बिहान ११ बजेदेखि आमरण अनसनमा बसेका छन । अनसनलाई ऐक्यवद्धता जनाउन नेपाली काँग्रेसका महामन्त्री थापा समेत सो स्थानमा पुगेका हुन् ।
समयमै सडक नबनेको भन्दै प्रतापपुरका जनप्रतिनिधिहरु गत भदौ २३ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।