दाङ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिटको एमबीबीएस पढाइ सुनिश्चित गरेको हो ।
५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउने भएका छन । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए। प्रतिष्ठानको विकासमा एमबीबीएस पढाइ महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने लम्सालले बताए ।“एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो, दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ”, उनले भने ।
प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ ।