काठमाडौँ । साउदी अरबमा २ वर्ष काम गरेर फर्किएका सिन्धुलीका भेषकुमार गिरीले लगाएर आएको औँठी विमानस्थल भन्सारले जफत गरेको छ ।
६ वर्षदेखि साउदीमा रहेका गिरी २ वर्ष पछि बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलको भन्सार आइपुग्ने बित्तिक्कै कर्मचारीले औँठी फुकाल्न भनेको र करिब ४७ हजार रुपैयाँ भन्सार तिरेर सुन लैजान भौचर दिएको उनले सिधाकुरालाई बताए ।
वैदेशिक रोजगारीबाट आउँदा पहिलो पटक आफूले यसपटक गहना लगाएर आएको भन्दै गिरीले विमानस्थल भन्सारले तस्करको व्यवहार गरेको दुखेसो गरे । विदेशमा श्रम गरेर फर्किने युवाहरुर्लाइ राज्यले दुःख दिएको उनको आरोप छ ।
‘साउदी बसेको ६ वर्ष भयो । म २ वर्षपछि नेपाल आएको हुँ । यो पहिलो पटक २५ ग्रामसम्म गहना ल्याउन पाइन्छ भन्ने भन्सारको सूचनाअनुसार मैले १९.९ ग्रामको औँठी लगाएर आएको हुँ,’ गिरी भन्छन् ‘ न म अवैध रुपमा काम गर्ने मान्छु हुँ, न त मेरो ट्राभल हिस्ट्री नै त्यस्तो छ । तर, भन्सारले मलाई तस्कारको व्यवहार गर्यो ।’
उनले घरमा परिवारले गहनाको रहर गरेकै कारण सुन किनेर ल्याएको पनि दाबी गरे । आफूले नेपाल सरकारको नियमअनुसार नै गहना ल्याएको उनको जिकिर छ । सुनको औँठी खरिद गरेको बिल र कागजात देखाउँदा समेत आफूहरुलाई कर्मचारीले दुःख दिएको उनी बताउँछन् । भेषकुमारसँगै आएका एउटै कम्पनीमा काम गर्ने उदयपुरका गोकुल बहादुर कार्कीले पनि १९.९ ग्रामकै भेषकुमारको जस्तै औँठी खरिद गरेरलगाएर आएका थिए ।
एकै समयमा बिदामा नेपाल आएका उनलाई समेत विमानस्थलका कर्मचारीले रोकेर चिट थमाए । यतिबेला उनी पनि घर जानुको सट्टा औँठी पाउन काठमाडौँको होटलमा बसेर विमानस्थल धाईरहेका छन् । कर्मचारीसँग विन्ति गर्दासमेत पैसा नतिरेसम्म सुन नपाउने बताएपछि आफूहरुले न्याय पाउनुपर्ने भन्दै मिडियामा आएको बताउँछन् । उनीहरुले आफूहरुलाई कानुनसम्मत व्यवहार गरिनुपर्ने बताए ।
उनीहरु आफूहरुले भन्सार कार्यालयले सार्वजनिक गरेको सूचनालाई नै आधार मानेर सुनको गहना लगाएको दुवै जनाको दाबी छ । आफूहरुले गलत प्रयोजनका गहनाको आकार मात्रै दिएर सुन नल्याएको गिरी र कार्कीको दाबी छ ।
तर, भन्सार विभागले भने रसायन प्रयोग नगरिएका बेरुवा औँठी, सिक्री र बाला ल्याउन नपाउने दाबी गर्छ । गहनाको आकार जस्तो मात्रै दिएर त्यस्ता सुन ल्याउन कानुनले रोकेको भन्सार विभागका सूचना अधिकारी एवम् प्रवक्ता पुण्यबिक्रम खड्का बताउँछन् ।
‘पुरुषहरुले २५ ग्रामसम्मका गहना र महिलाले ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार लाग्दैन,’ खड्का भन्छन्, ‘तर, झिटी गुण्टाको सुविधा सम्बन्धी सूचनाले नै ल्याउन नपाइने भनेको बेरुवा औँठी, सिक्री र बाला जस्ता गहना ल्याउन पाइन्छ तर त्यसमा भन्सार लाग्छ ।’
कानुन अनुसार भन्सारमा यात्रुहरुलाई व्यवहार गरिने भन्दै उनले त्यसलाई अन्यथा नबुझ्न पनि आग्रह गरे । अर्थ मन्त्रालयले २०८० जेठमा एक सूचना जारी गर्दै विदेशबाट आउने यात्रुहरुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने स्पष्ट गरेको छ ।
जसअनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहना ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, राजश्व तिरेर १०० ग्रामसम्म काँचो सुन ल्याउन भने पाइन्छ । जसमा ५० ग्रामसम्मका कम र ५० ग्राम देखि १०० ग्रामको हकमा थप धेरै भन्सार महशुल तोकिएको छ ।