सोलुखुम्बुको खराब मौसमका कारण पछिल्लो पाँच दिनयता लुक्ला विमानस्थलमा उडान ठप्प छ । मौसम बिग्रिएर रामेछापको मन्थली हुँदै लुक्ला विमानस्थल उड्ने जहाज नचल्दा यतिबेला सयौँ यात्रु मन्थलीमै अलपत्र परेका छन् । उनीहरु मन्थलीमै बास बस्न बाध्य छन् ।
विमान नचल्दा सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि हिँडेका यात्रु मन्थलीमै साथै अवलोकनपश्चात फर्किएकाहरु लुक्लामै अलपत्र परेका छन् ।
दैनिक ४० उडान हुने गरेको मन्थली– लुक्ला विमानस्थलमा एक हप्तादेखि विमान नचलेकाे मन्थली विमानस्थल प्रमुख उमेशकुमार पन्थी बताउँछन् । ‘सिता, समिट र तारा यअरलाइन्सले दैनिक सरदर ४० उडान भर्ने गरेका थिए, तर मौसम बिग्रिएर पाँच दिनदेखि विमानस्थलमै होल्ड भएर बसेका छन् ।’, उनले भने, ‘यात्रुको चाप एकदमै धेरै छ । कोही आउने अनि फर्कने क्रम जारी छ । हेलिकप्टर चार्टड गर्न सक्ने मौसम अलि राम्रो भएको समयमा हेलिकप्टर लिएर जाने गरिरहेका छन्’
उडान रोकिँदा यात्रुहरु मन्थली होटलमा बस्न बाध्य छन् । यहि मौकालाई अवसर छोपेर मन्थलीका होटल व्यवसायीले यात्रुसँग नियमविपरित महंगो शूल्क उठाएको यात्रुहरुको गुनासो छ ।
मन्थलीस्थित ट्रेकिङ गाइडमा कार्यरत दावा छिरिङ लामाले यात्रुहरु खुलेआम ठगिइरहँदा पनि सरकार अनि सरकारका निकाय मुकदर्शक भइरहेको बताए । उनले भने, ‘‘राज्यको आँखा कुर्सीमा पर्यटकको आँखा लुक्लाको मौसममा, रामेछाप होइन अहिले यो ठाउँको नाऊ पैसाछाप भन्दा फरक नपर्ला, चर्को घाम चर्को मूल्य,’।
सोलुखुम्बुमा बाक्लो हुस्सु र कुहिरो लागेका कारणले मन्थली–लुक्ला उडान रोकिएको हो।