२८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सांसद तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा नेम्वाङलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौनधारण पनि गरिएको छ ।
विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य भएका थिए । उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए ।
यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।