साेलुखुम्बु :सगरमाथा क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
शरद ऋतु र चाडवाडको समय भएका कारण यतिबेला पर्यटक र उनका सहयोगीहरुको आवागमनले लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बुचे, दिङ्बुचे, लोबुचे, गोरप्छेप, आधार शिविर लगायतका स्थानमा पर्यटकको ओइरो लागेको छ ।
पर्यटकको संख्या बढेसँगै यतिबेला सगरमाथा क्षेत्रका होटल भरिभराउ छन् । यतिसम्म कि, बुकिङ नगरी पुग्ने पर्यटकहरुलाई डाइनिङ हलमा समेत सुताएर व्यवस्थापन गर्नुपर्ने अवस्था भएको स्थानीय होटल व्यवसायी बताउँछन् ।
सगरमाथा क्षेत्र पुग्नका लागि पर्यटकहरु हवाइ र सडक मार्ग दुवै प्रयोग गर्न सक्छन् । हवाइमार्ग प्रयोग गर्दा रामेछापको मन्थलीबाट उनीहरु सिधै लुक्ला पुग्छन् भने सडकमार्गबाट दोलखाको जिरि हुँदै सोलुखुम्बुको सल्लेरी, थामडाँडा पुग्ने गर्छन् । तर पर्यटकको चाप बढ्दा पर्यटकहरुलाई आवागमनका लागि साधनको समेत अभाव भएको छ ।
यो समयमा आरोहीहरु सगरमाथाको आरोहणभन्दा पनि आधारशिविर र कालापत्थर पुगेर फर्कने गर्छन् ।
सगरमाथा क्षेत्रको भ्रमणका लागि भारत, चीन लगायत तेस्रो मुलुकका पर्यटकहरु समेत सोलुखुम्बु पुग्ने गर्छन् । तर कमजोर भौतिक पूर्वाधार, पर्यटकको उचित व्यवस्थापन साथै मौसमको प्रतिकुलताका कारण पर्यटक तथा पर्यटन व्यवसायीहरु मारमा पर्ने गर्छन् ।