
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले आफूलाई मेयरका रुपमा नभई एक नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन् ।
उनले नेपाललाई विभिन्न देशले लगाएका आरोप उल्लेख गर्दै आफूहरुको अस्तित्व हराएको बताएका हुन् । उनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले Corrupt भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस ,नेपाली भएर बाच्ने आधार त दिनुस ।’
मेयर शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्ले नेपाललाई दिएको सहयोग ठगी भएको र भारतमा नेपाली विद्यार्थीमाथि लगाइएको आरोप र गरिएको विभेदलाई समेटेर सो स्टाटस लेखेको बुझिन्छ ।
त्यसो त मेयर शाहले बिहिबार राति अमेरिकि राष्ट्रपतिलाई सम्बोधन गर्दै एक स्टाटस समेत लेखेका थिए ।
नेपाललाई दिइएको सहयोगबारे ट्रम्पको अभिव्यक्तिलाई लिएर उनले टिप्पणी गरेका थिए । मेयर शाहले अमेरिकी राष्ट्रपति ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका हुन् । बालेनले अमेरिका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएको भन्दै लेखेका छन्, ‘धन्यवाद, तपाईले हामीलाई हाम्रो देश तपाईको भन्दा राम्रो महसुस गराउनु भयो ।’
त्यस्तै उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’