माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन्।
उनले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न नपाइने बताउँदै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
त्यस्तै रिट निवेदनमा उनले प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने माग समेत राखेका छन् ।
उनको रिटउपर सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतिघर–बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।