काठमाडौँ । चितवनमा फलाएर काठमाडौँमा बिक्रीका लागि ल्याइएको सिमीमा विषादी मात्रा अधिक रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विषादी अवशेष परीक्षणमा यस्तो रहस्य खुलेको हो ।
कालिमाटी तरकारी बजारमा मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको परीक्षणमा हरियो सिमीमा मानव प्रयोगका लागि प्रतिकुल रहेको अत्याधिक विषादीको मात्रा भेटिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् सूचना अधिकारी मोहनकृष्ण महर्जनले जानकारी दिए ।
उनकाअनुसार परिक्षण गरिएका मध्ये चितवनबाट ल्याइएको हरियो सिमीको एउटा नमूनामा ४२ प्रतिशतसम्म इन्जाइम पाइएकोले तरकारी व्यवसायी श्री राम कुमार थपलियाको ११४ किलो उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाइएको छ। नेपालका २० जिल्ला र भारतबाट आएका तरकारीको विषादी परिक्षण गर्दा यस्तो नतिजा आएको हो ।