काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधका कार्यक्रम स्थगन गर्न कांग्रेसलाई आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा जवाफ दिन आइतबार दोस्रो पटक रोष्टममा पुगेका प्रधानमन्त्री दाहालले दलहरू सहमति नजिक पुगेको भन्दै विरोधका कार्यक्रम रोक्न कांग्रेसलाई आग्रह गरेका हुन् ।
सहकारी ठगीमा छानबिन समिति बनाउन दलहरू बीच सहमति भएको र समितिको कार्यदेशबारे दलहरू सहमतिको नजिक रहेको भन्दै उनले विरोधका कार्यक्रम त्याग्न र संसद्मा सहज छलफलको अवस्था सृजना गर्न आग्रह गरे ।
‘संसदीय छानबिन समिति बनाउन सबै दलहरू सहमत छौं । कार्यदलले कार्यदेशबारे अन्तिम बहस गरिरहेको छ । आजै पनि मैले गहन छलफल गरिरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘संसद्मा बजेट प्रस्तुत गर्नु अघि हामी सहमतिमा पुग्छौँ ।’
प्रधानमन्त्री दाहालले कांग्रेसलाई विरोधका कार्यक्रम गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटका कार्यहरू प्रभावित नगर्न पनि आग्रह गरे ।