५ असाेज, काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । गृह मन्त्रालयमा जारी बैठकमा यस अघि शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले तयार पारेको सात बुँदे सहमतीपत्र माथि छलफल भइरहेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार छलफल निषकर्षमा पुगेको छ । सहमतीमा शिक्षकको मर्यादाक्रम कायम गर्ने, शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने, प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था गर्ने, पेशागत सुरक्षाको लागि सजाय सम्वन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
यस्तै विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाका लागि आवश्यक व्यवस्था गर्ने, सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।
यिनै बुँदामा आधारित रहेर सहमती नजिक पुगेको वार्तामा सहभागी एक शिक्षकले बताए ।