काठमाडौँ । नेशनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्र राष्ट्रिय झण्डाले ढपक्क ढाकिएको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टका लागि मानिस दरबारमा जम्मा भएका छन् । आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
आज बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रसालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।