असोज २० विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम आज मत लिँदै छन् । तर अहिलेसम्म विश्वासको मत पाउने सम्भावना छैन् ।
विश्वासको मत लिन दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग उपसभामुख बाहेक ३९ जना सांसद छन् ।
सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले सभा चलाउँदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ ।
६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ । राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यावधि निर्वाचन हुनेछ ।
यस अघि एमालेसँग रहेको राप्रपाले अहिले विश्वासको मत नदिने देखिएको छ । राप्रपाका नेताहरूले कार्कीले विश्वासको मत पाउने आधार देखाए मात्रै मत दिने नभए, राप्रपा तटस्थ बस्ने बताउँदै आएका छन् ।