दाङ । दाङको लमहीमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त भएको छ । सुदुरपश्चिमको धनगडीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि भनेर लमही तर्फ गइरहेको एउटा खाली ट्रक आँफै आगलागी भइ जलेर नष्ट भएको हो ।
सुप प्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आँफै आगो लागेर जली नष्ट भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम महेन्द्रनगरबाट दाङको लमही तर्फ उक्त ट्रक आउँदै गर्दा ट्रकमा वाइरिङ सर्ट भइ आगलागी भएको चालक बताउँछन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका – ९ चाउखोला नजिकको जङगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आँफै आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
वाइरिङ सर्ट भइ ट्रकमा आगो लागेर जली नष्ट भएको एसपी केसीले भनाई छ। घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ ।
आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।
ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा चालक रमेशदत्त जोशीको हात र कपालमा सामान्य जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए ।