काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौँ आइपुगेका थिए ।
केहीबेर अघि आफ्ना कानुनविद्हरूसँग लामिछाने जिल्ला अदालत काठमाडौँ पुगेका हुन् । काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
'अदालतमा उपस्थित भई बयान गर्न र आरोपको कानुनी प्रतिरक्षा गर्न पाउँ भन्ने निवेदन लिएर आएका छौँ,' लामिछानेका अधिवक्ताले सिधाकुरासँग भने ।