धनकुटा : धनकुटाका एक युवकले आफ्नो काम वडाध्यक्षले नगरिदिएको झोंकमा वडाध्यक्षलाई नै उनकै घरभित्र थुनेर बाहिरबाट आगो लगाइदिएको खुलेको छ ।
आइतबार मध्यराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको थियो । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईँको घरमा वडाध्यक्षसहित परिवारका सदस्यलाई भित्रै थुनेर आगो लगाइएको थियो ।
राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएपछि उनले छिमेकीलाई हारगुहार गरेपछि छिमेकीले उनको उद्धार गरेका थिए ।
घरमा आगो लगाएको आरोपमा धनकुटा प्रहरीले सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएर उनीमाथि गरिएको प्रारम्भिक अनुसन्धानमा अधिकारीले आफ्नो काम नगरिदिएका कारण आफूले आगो लगाइदिएको बताएका छन् ।
वडाध्यक्षले के काम नगरिदिएको लगायत विस्तृत विषमाथि अनुसन्धाान भइरहेको प्रहरीले जनाएको छ ।