काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाइसँगको दुई वर्षको सम्झौत समाप्त भएको र सम्झौता नविकरण नगर्ने निर्णय भएको जानकारी दिएको हो । क्यानले नेपाली क्रिकेटमादेसाईले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।
मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका देसाई नेपाली टिमको प्रशिक्षक नियुक्त हुनुअघि वेस्ट इन्डिजको पूर्व ब्याटिङ प्रशिक्षक पनि थिए। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको सहायक प्रशिक्षक समेत रहेका थिए ।
देसाई मुख्य प्रशिक्षक भएसँगै नेपालले एकदिवसीय मान्यता जोगाउने देखि आइसिसी विश्वकप लिग टु का पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो ।
उनकै प्रशिक्षण कालमा नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो भने नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बनेको थियो । प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भएको थियो ।
यस्तै गत वर्ष नेपालले दोस्रो पटक टी २० विश्वकपमा छनोट हुँदै गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी२० विश्वकपमा नेपालले उत्कृष्ठ खेल खेलेको थियो ।