आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानले नेपाललाई १४६ रनको टार्गेट दिएको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हाे ।
नेपालका तर्फबाट १९.३ ओभरमा करण केसीले कलीमुल्लाहलाई आउट गराउँदै नवौँ विकेट बनाएका थिए भने १७.३ ओभरमा करण केसीको बलमा मोहम्मद नसिम आउट हुँदा नेपालले आठौँ विकेट हात पारेको थियो ।
त्यस्तै १४.४ ओभरमा अविनाश बोहोराको बलमा जिसन मक्सुद आउट हुँदा नेपालले सातौँ विकेट हात पारेको थियाे भने सन्दीप लामिछानेकाे निरन्तर १३.२ ओभरमा मेहरान खान र १३.१ ओभरमा आयान खान आउट हुँदा नेपालले छैटाैँ विकेट लिएकाे थियाे ।
त्यस्तै नेपालका तर्फबाट ५.४ ओभरमा सोमपाल कामीको बलमा ओमानका शायव खान आउट हुँदा नेपालले चौथो विकेट हात पारेको थियो भने ४.६ ओभरमा गुल्सन झाको बलमा प्रतिक श्रीकान्त अथावले आउट हुँदा तेस्रो, सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट हुँदा दोस्रो र अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौँ बलमा ओमानका कश्यव कुमार प्रजापति आउट हुँदा नेपालले पहिलो विकेट लिएको थियो ।
एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले ओमानविरुद्धको खेलमा पहिलाे इनिङ्गस् फिल्डिङ गरेकाे थियाे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ओमानले ब्याटिङ गरेकाे थियाे ।
समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।
नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।
समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेट रन रेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।