काठमाडौँ, २७ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।
एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विदेशबाट छोराहरू आइसकेपछि उहाँको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
एमालेले उहाँको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
भाद्र २७, २०८० ०१:४३ मा प्रकाशित