काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ । लामिछानेमाथि लागेको उक्त आरोपमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुुहुँदै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाएका थिए ।
पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले विमति जनाएको छ ।
“प्रधानमन्त्रीज्युले पर्याप्त प्रमाण छैन भन्नुभयो । तर हामी भन्छौँ, पर्याप्त प्रमाण छन्”, कांग्रेस नेता लेखकले भने, “यस विषयमा निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौं । संसदभित्रै छानबिन समितिको माग हामी गर्दछौं ।”