काठमाडौँ । ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडी पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । बिभिन्न जंगली फुलहरुले भरिएको मैदान । यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङगको ढोरपाटन, रुकुमको भुःभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।
जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जलजलामा बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु आउने गर्दछ्न् ।
जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजला सम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडी मा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ ।