काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
आइतबार संसद् भवनमा पत्रकार सम्मेलन गरेर थापाले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता रहेको देखिने सरकारी कागजात सार्वजनिक भएको बताए । आफूहरूले गृहमन्त्री दोषी नै छ भनेर प्रमाणित गर्दै आरोप नलगाएको भन्दै महामन्त्री थापाले आरोप लागेका कारण छानबिन माग गरिएको बताए ।
आरोप लागेकाहरू माथि छानबिन हुनुपर्ने भन्दै उनले दोषी भए सजाय भोग्न र दोषी प्रमाणित नभए सँगसँगै राजनीति गर्ने प्रस्ताव पनि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई गरे ।
‘कसैमाथि पनि लागेका संगीन आरोपको छानबिन हुनुपर्छ भन्ने मेरो र पार्टीको माग हो,’ महामन्त्री थापाले भने, ‘आरोप मलाई लागे पनि छानबिन हुनुपर्छ । रविलाई लागेपनि छानबिन हुनुपर्छ । आरोप प्रमाणित भए सजाय भोग्ने हो । नभए पुनः सँगसँगै राजनीति गर्ने हो ।’ महामन्त्री थापाले रवि लामिछानेमाथि नै संसदीय छानबिन गर्न समिति गठन गर्न सरकार तयार नभए संसद् नचल्ने अडान पनि दोहोर्याए ।