
काठमाडौँ । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा वकालत गर्ने एक समूहका संयोजकलाई स्थानीयले कालोमोसो दलेका छन् ।
आइतबार धरानमा आयोजित एक कार्यक्रममा उपस्थित भएका पाथीभरा केबलकार निर्माण सहयोग समितिका संयोजक पदम चेञ्जी मावो लिम्बुलाई स्थानीयहरुले कालोमोसो दलेका हुन् ।
कालोमोसो दल्न भेला भएका स्थानीहरुले लिम्बु कै कारण पाथीभरा क्षेत्रमा स्थानीयहरुले सरकारको गोली खानु परेको पनि बताएका छन् ।
चेञ्जी आइएमई ग्रुपको पक्षमा पाथीभरामा केबलकार निर्माण गर्न पर्ने भन्दै दवाव सृजना गर्न बनेको सहयोग समितिका संयोजक हुन् । उनी नेकपा एमाले सर्मथित मानिन्छन् ।
केबलकार निर्माणको विपक्षमा रहेको समूहले चेञ्जीलाई सार्वजनिक रुपमै अब आयन्दा केबलकारको पक्ष नलिने बाचा गर्न पनि दबाब दिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले पाथीभरामा केबलकार बनाउन खोजेको छ । तर, स्थानीयहरुले पाथीभरा क्षेत्रमा केबलकार बन्न नहुने भन्दै निरन्तर आन्दोलन गर्दै आईरहेका छन् ।