
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु देश लुट्नेविरुद्ध निरन्तर आन्दोलित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले देशमा गणतन्त्र आएको तर गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने आफूहरु त्यसको निरन्तर विरोधमा हुने बताएका छन् ।
गणतन्त्र जस्तोसुकै गरि स्थापना भएपनि त्यो लुटतन्त्रमा परिणत भए आफूहरु त्यसको प्रतिरोधमा उत्रने बताएका हुन् । उनले भने, ‘‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्छे हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो अर्थमा यहाँ जुन कुरा राखियो । तपाईँले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्, गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिरहन्छौँ । त्यसको विरुद्धमा हुन्छौँ ।’’
त्यस्तै उनले पाथिभरा क्षेत्रमा भइरहेको राज्यको दमनबारे समेत प्रश्न गरेका छन् । उनले राज्यले अन्देखा गरेर भाइभाईलाई लडाएको आरोप लगाएका छन् । ‘‘आज पाथिभरा मुक्कुम्लुङ क्षेत्र अशान्त भइरहेको छ, एकप्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो, समाचार हेर्नुभएको छ कि छैन ? र राजनीतिक दलले त्यो विषय किन अन्देखा गरेर बसिरहेको छ । भाइभाइबिच लडाउने काम किन भइरहेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’’, लिङ्देनले प्रश्न गरे ।