काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको अस्वभाविक मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले ९० रुपैयाँ प्रतिकेजीमा केही अघिसम्म पाउने चिनीको मूल्य कसरी १२० रुपैयाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
उनले भने उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको ? समयमै अत्यावश्यक वस्तुको आपूर्ति गर्न बजार हस्तक्षेप र नियमन गर्नुपर्ने सरकारनै कमिसन तन्त्रमा लिप्त हँुुदै कालोबजारीलाई प्रशय दिएको आरोप पराजुलीको थियो ।
चाडबाड नजिकिएको बेला कालोबजारीले जनता आक्रान्त भएका उल्लेख गर्दै पराजुलीले भने, ‘बेरोजगारी र अभावले थिलथिलो भएका जनताले कालोबजारीलाई प्रशय दिने र कमिसनतन्त्रको बार्गेनिङ गर्ने, सरकारको खबरदारी नगरेर के दीपावली गर्नुपर्ने हो ?’
सांसद पराजुलीले बेरोजगारी, कुशासन, व्यथिति र भ्रष्टाचारबाट आक्रान्त जनताले मौलिक हकको उपयोग गर्दै आक्रोश पोख्दा दुई तिहाईको दम्भमा सरकारले युवालाई झुठा आरोप लगाएर दमन गरेकोमा भत्सना गरे ।
रास्वपा अराजकताको पक्षधर नभएको दाबी गर्दै पराजुलीले खबरदारी गर्ने युवालाई कुन कानुन अन्तर्गत गिरफ्तारी गरिएको हो र सो कानुनको औचित्य के हो भन्दै प्रश्न गरे ।