काभ्रेपलाञ्चोक। काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।
रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ । केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ । छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ ।
कसरी पुग्ने झरनामा
विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।
तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताउनुभयो । चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उहाँले जानकारी दिए । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उहाँले जानकारी दिए ।
वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउछन् ।