काठमाडौँ । काठमाडौँमा आगामी माघ १२ गते कुल १७ लाख १२ हजार रुपैयाँ नगद पुरस्कार राशिको राइट टू प्रोटिन रन म्याराथन हुने भएको छ ।
अमेरिकी सोयबिन निर्यात काउन्सिल (यूसेक) र नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए) को संयुक्त आयोजनमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त प्रतियोगिता हुन लागेको हो ।
नेपालीहरूमा प्रोटिन आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जनचेतनामुलक म्यारथन गर्न लागिएको आयोजक नेपाल भेटेरिनरी एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका उपाध्यक्ष डा।अशेष भट्टराईकाअनुसार आठ फरक फरक विधाको म्याराथनको कुल पुरस्कार राशि १७ लाख १२ हजार रुपैयाँ हो । प्रतियोगितामा प्रथम देखि पाचौँ हुनेसम्मले गरी कुल ४० जनाले नगद पुरस्कार पाउने छन् ।
पुरुष हाफ म्यारथन र महिला हाफ म्याराथनमा सहभागी भएर प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७० हजार रुपैयाँ नगदसहित मेडल प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौ हुनेले क्रमश ५० हजार र ३० हजार रुपैयाँ नगद र मेडल पाउने छन् ।
यस्तै, १० किलोमिटर पुरुष खुल्ला र पाँच किलोमिटर महिला खुला क्याटगोरीमा हुने दौडमा प्रथम हुनेका लागि ५० हजार नगर पुरस्कार दिइने आयोजकले जनाएको छ । यो विधामा दोस्रो, तेस्रो, चौथो र पाचौँ हुनेले क्रमश ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार र मेडल पाउने छन् ।
कक्षा १२ सम्मका पुरुष विद्यार्थीहरू सहभागी हुने ५ किलोमिटर दौडको पुरस्कार राशि प्रथम हुनेले ३० र पाँचौ हुनेले ५ हजार रुपैयाँ नगद र मेडल पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् ।
यस्तै ३ किलोमिटर स्कुल छात्रा विधाको दौडको पुरस्कार राशी पनि ३० देखि ५ हजार सम्मकै छ । कक्षा १२ सम्म पढ्ने छात्रा मात्रै सहभागी हुने उक्त दौडमा दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् ।
आयोजकले प्रतियोगितामा ह्वीलचेर दौड पनि समावेश गरेको छ । ह्विलचेयरमा पुरुष महिला विधाको दौडमा प्रथम हुनेले ३० हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् ।
एशोसिएसनका उपाध्यक्ष भट्टराईकाअनुसार कार्यक्रममा सहभागी सबैले रजिष्ट्रेशन बापत लञ्च बक्स टिसर्ट प्राप्त गर्नेछन् । निर्धारित विधाको दौड पुरा गरेको खण्डमा मेडल पनि पाइनेछ ।