काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको ८ महिनामै सरुवा गरेको छ । गत बिहीबारको मन्त्रीपरिषद्को बैठकले परियार सहित ४० जना सहसचिवको सरुवा गरेको हो । परियारलाई काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी ८ महिनामै फेरिएका हुन् । परियारको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका सरोजप्रसाद गुरागाई पुगेका छन् ।
यस्तै गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा रहेका प्रकाश पौडेल गृह मन्त्रालयमा आएका छन् भने गोविन्दप्रसाद रिजाल पनि गृह मन्त्रालयमा सरुवा भएका छन् । यस अघि उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए ।
यातायात व्यवस्था विभागको नेतृत्व पनि फेरिएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ । यस्तै सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका छन् ।
यस्तै उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट तोयानारायण सुवेदी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् ।