काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा लुम्बिनी लायन्सले पहिलो जीत हात पारेको हो । यसअघि निरन्तर ४ खेल हारेको लुम्बिनीले पाचौँ खेलमा भने जित हात पारेको हो । आजको खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६७ रनको टार्गेट दिएको थियो । सो टार्गेट पछ्याएको चितवन ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४ विकेट, रामोन सिमण्ड्सले २ विकेट, अभिशेष गौतमले एक विकेट, साद विन जफरले एक विकेट लिएका हुन् ।
चितवन राइनोजले आजसहित ५ खेल खेलेको छ । तीनमा जित र दुईवटामा हार बेहोरेको चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै लुम्बिनी लायन्स यसअघिका चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।