काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी धादिङकी शोभा पाठक नाम बताउने जानुका पाठक विरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पाठक विरुद्ध मङ्गलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
उनी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाइएको छ । सामाजिक सञ्जालमार्फत गाली बेइज्जत गरी सामाजिक जीवन समाप्त पार्ने उद्देश्यले चरित्र हत्या गरिएको भन्दै पाठकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) र (२) बमोजिम कारबाही माग गरिएको छ ।
अभियोग पत्रमा शोभा उर्फ जानुका पाठकले दिएको बयानअनुसार महेश बस्नेत र आफू बीचको विवाद मिलाउन छोरी नाता लगाएर आएका राजकुमार त्रिपाठीले धोका दिएपछि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको थियो ।
त्रिपाठीले बस्नेतसँग मिलेर धोका दिएपछि त्रिपाठी विरुद्ध सामाजिक सञ्जालमा गाली गरेको पाठकले प्रहरी समक्ष स्वीकारी बयान गरेकी छिन् । निवेदक त्रिपाठीले भने यस विषयमा केही खुलाएका छैनन् ।