कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा भएका छन् । उनकाे स्वास्थ्य अवस्थाका कारण परिवारको जिम्मा लगाइएकाे हाे । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई रिहा गरिएको हो । प्रहरीले सिरोहियाका छोरा सम्भव सिरोहियाको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाे हिरासतमा रहेका सिराेहियाकाे मुटुको चालमा समस्या देखिएपछि प्रहरीको निगरानीमा अस्पताल राखिएकाे थियाे । जनकपुरको काब्या अस्पताल भर्ना भएका सिराेहियालाई मगलबार हेलिकप्टरमार्फत ललितपुरकाे मेडिसिटी अस्पताल ल्याइएको थियो ।
जिल्ला अदालत धनुषाले सिरोहियालाई जेठ १४ गते तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसअघि जेठ ९ गते र ११ गते पनि तीन/तीन दिनको म्याद दिइएको थियो ।
सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको थियो ।
सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अर्थात मंगलबार प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सोही दिन उनलाई पक्राउ गरी धनुष लगेको थियो । अदालतको अनुमतीपछि पक्राउ गरेर धनुषा पुर्याइएको हो ।