बारा । प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको हो । उनीहरूलाई बारा प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्ने एक भारतीयसहित चार जना छन् । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह, बाराको कोल्हवी नगरपालिका–६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
उनीहरूको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बीआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेर पक्राउ परेका ४ जना माथी थप अनुसन्धान भइरहेको उपरीक्षक खड्काले बताए ।