काठमाडौँ । मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन् ।
ओली डडेल्धुरा पुगेपछि नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेको भिडियो पोष्ट गरेका छन् । ओलीले पोष्ट गरेको भिडियोमा शेरबहादुरसँग छोटो कुराकानी भएको देखिन्छ । ओलीले जय नेपाल भन्दै संवाद सुरु गर्छन् ।
ओलीको निर्वाचन क्षेत्र गन्यापधुरा भन्दा अलिकति पर बसेको बताउँदै ओलीले यता राम्रो छ के छ त्यता भन्छन् । देउवाले ओलीलाई आफू काठमाडौँमा भएपनि डडेल्धुरामा स्वागत छ भनेका छन् ।
यो भिडियो पोष्ट गर्दै ओलीले लेखेका छन् ‘सुन्दर डडेल्धुरा ११, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी’ ओलीले यस अघि बैतडी जाने क्रममा डडेल्धुरामा चर्चित खीर बाजेको पसलमा खीर खाएको समेत पोष्ट गरेका छन् ।
बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो। डडेल्धुराको अमरगढीमा बास बसेका ओली शुक्रबार डोटीको सिलगढीका लागि निस्किनेछन् ।
डडेल्धुराको अमरगढीमा ओलीले कार्यकर्तासँग भेटघाट गर्ने तय भएको छ । झुलाघाटदेखि सुरु भएको पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ ।