काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लोकतान्त्रिक भन्ने ठूलो दल कांग्रेसले अन्याय गरेको बताएका छन् । आइतबार संसद्मा बोल्दै लामिछानेले आफूलाई बोल्न नदिएर, हात खुट्टा बाँधेर, होहल्ला र नाराबाजी गरेर, अपुष्ट र तथ्यहीन समाचार लेखाएर कांग्रेसले बदनाम गरेर अन्याय गरेको बताए ।
सहकारी प्रकरणमा हुँदै नभएको आरोप कांग्रेसले लगाएको भन्दै लामिछानेले सहकारीबाट आफूले ऋण लिएको भन्ने कांग्रेस महामन्त्रीको आरोपलाई पुष्टि गर्न पनि चुनौती पनि दिए ।
आफूले गल्ति गरेका भए प्रचलित कानुनको अधिनमारही कारबाही भोग्न आफू तयार रहेको अवस्थामा नियमित कानुनको प्रक्रियालाई पन्छाउने, प्रतिस्थापन गर्ने हिसाबले संसदीय छानबिनका लागि बाध्य गर्ने कार्य अनुचित हो, अनैतिक हो, अराजनीतिक हो, अवैधानिक हो, अन्याय हो, अति हो र अत्याचार गर्नु हो र म यो अत्याचार सहन तयार छु,’ लामिछानेले भने ,‘हात खुट्टा बाँधेर, बोल्न नदिएर, किन डराएको भनेर, नाराबाजी र होहल्ला गरेर एउटा व्यक्तिलाई विष कुण्डमा चोपल्न खोजेको दृश्य संसारले हेर्नेछ ।’
केही गर्ने भनेर आएको नयाँ राजनीतिक दल र त्यसको नेतृत्वमाथि कांग्रेसले एक पक्षीय दूषित प्रचार गरेको पनि लामिछानेले प्रष्ट्याए । संसद् कानुन पढेर बहस गर्नु पर्नेमा पत्रिकाका हेडलाइन पढेर संसद्मा विरोध गरिनु लोकतान्त्रिक भन्ने दलले सार्वभौम संसद्मा अमर्यादित भएको पनि उनले बताए ।