काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफुले तत्कालिन अवस्थामा संसद बिघटन गरेको बताएका छ्न ।
शनिबार काठमाडौँको भृकुटिमण्डपमा एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन गर्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरुले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफुले संसद बिघटन गरेको बताएका हुन् ।
संसद बिघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ । उनले आफु नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट बिपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे । राष्ट्रिय अन्तराष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरेपनि एमालेको कार्यकर्ता पङ्तीले पार्टीलाई बचाएको उनले बताए ।
अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश बिकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दावी गरे ।
ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दावी गरे । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई बिभाजन गर्ने काम नगर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौँका बिभिन्न पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी भएका छन् ।