२७ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह प्रतिष्ठित टाइम म्यागजिनको सय उदीयमान व्यक्तिको सूचीमा छनोट भएका छन् ।
म्यागजिनले तयार पारेको यस वर्षको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।
टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखे स्टोरीमा बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । साथै फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।
के हो टाइम म्यागजिनको ‘टाइम हन्ड्रेड नेस्क्ट’
आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पार्ने गरेको छ ।
म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ ।
‘टाइम हन्ड्रेड नेस्क्ट’ का बारेमा टाइम म्यागजिनले लेखेको छ ‘एक महान पत्रिका र एक महान मिडिया कम्पनीले वर्तमानलाई मात्र प्रतिबिम्बित गर्नु हुँदैन, हामी भविष्यका लागि पनि अघि बढ्नुपर्छ जसले समाजको भविष्य र भविष्यका नेताहरू कस्तो हुनेछन् भनेर देखाउँछ’ ।
‘टाइम १०० को सूची बनाउन टाइमका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेको टाइमले जनाएको छ ।