काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्ध आक्रोशित भएका छन् । शुक्रबारको संसद् बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएका लामिछानेले कांग्रेस नेता थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती समेत दिए ।
संसद् स्थगित भएर बाहिरिँदै गर्दा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए । ‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैँले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोडिदिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’ उपप्रधान एवम् गृहमन्त्री लामिछानेले संसदीय समिति सामान्य कुरा भएको भन्दै त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनु पर्ने बताए ।