१६ भदाै - श्रीलंकाको क्यान्डीमा एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज आमनेसामने हुँदैछन् । उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।
भारतका तर्फबाट रोहित शर्मा र पाकिस्तानका बाबर आजमले खेलको कप्तानी गर्नेछन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ ।
त्यस्तै पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको ११ जना खेलाडीलाई नै उसले निरन्तरता दिएको छ । उसले खेल हुनुभन्दा अघिल्लो दिन नै आफ्नो प्लेईङ–११ घोषणा गरिसकेको छ । जहाँ फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् ।
त्यस्तै प्रतियोगिताको पहिलो खेल खेल्दै छ भारत । जो जितका साथ आगामी यात्रा सुरु गर्न चाहन्छ । पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न भारतले रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या , रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण तयार गरेको छ । त्यस्तै उसले सन्जु स्यामसनलाई वैकल्पिक खेलाडीका रुपमा अघि सारेको छ ।
एक दिवसीय खेलमा भारत र पाकिस्तान ४ वर्षपछि आमनेसामने भएका हुन् ।
भारतले आफ्नो दोस्रो खेल भने आगामी सोमबार नेपालसँग खेल्दैछ ।