चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका छन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् । एउटाको खाग काटिएको छ भने ठुलो गैँडाको खाग छैन ।
छ वर्षको गैँडा मार्न उनिहरुले हालै नयाँ खाल्डो खनेको देखिएको छ भने ठुलो गैँडा मार्न उनिहरुले केहि समय अघिनै योजना बनाएर खाल्डो खनेको देखिएको छ ।
सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । गत वर्ष पनि तस्करको समूहले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए । प्राकृतिक कारणले मात्रै यो वर्ष पाँचवटा गैँडा मरेका छन् ।