ढोरपाटन । बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गर्नुभएको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ ।
मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै चार करोड लाग्ने बताए । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ । हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताए ।
पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब ५५ करोड खर्च भएको छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घन्टीसमेत राख्ने तयारी छ । संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँंदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको छ । कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने छन् ।