गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् ।
गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।
कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।
कार्यक्रमका लागि कुल लागत रु सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट रु तीन लाख ९० हजार सात सय स्वीकृत अनुुदान रहेको छ भने रु तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नेछन्। कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।