नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी एवम् व्यवसायी अरुण कुमार चौधरी पक्राउको बिरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायीमाथिको धरपकड एवं पक्राउमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘यसै शिलसिला अन्तर्गत विहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ ’ विज्ञप्तिमा भनिएको छ, ‘पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ ।
’ महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ । लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने पनि महासंघको दाबी छ ।