काठमाडाैँ । गोलभेँडा संसारकै एक महत्वपूर्ण तरकारीबाली हो । गोलभेँडामा विभिन्न भिटामिनहरु, क्याल्सियम, कार्बोहाइड्रेट तथा क्यान्सर जस्ता भयावह रोगलाई निवारण गर्न सक्ने तत्वहरु उपलब्ध हुने हुंदा यसको मानव पोषणमा ज्यादै महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा करीब ८०० हेक्टर क्षेत्रफलको संरक्षित संरचना भित्र गोलभेडाको व्यवसायिक खेती गरिदै आएको छ भने खुल्ला जमिनमा पनि यसको ठूलो क्षेत्रमा खेति हुने गर्दछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ०७८/०७९ तथ्यांक अनुसार गोलभेँडाको कूल उत्पादकत्व १८.४५ टन प्रति हेक्टर , क्षेत्रफल २२,९११ हेक्टर र उत्पादन ४२२७०३ टन रहेको पाइन्छ ।
नेपालमा यसको माग दिनानुदिन बढ्दै जानुमा मुख्य कारण हरेकका भान्सामा यसको पोषण महत्व हुनु, तरकारीलाई रुचिकर बनाउनु तथा खुद्रा होटेल तथा तारे होटलहरुमा आवश्यक पर्ने मोमोको चट्नी तथा चिकन चाउमिन, दैनिक खाना एवं चिकन चिल्ली आदि परिकारका लागि अत्यावश्यक हुनु पनि महत्वपूर्ण पक्ष मान्न सकिन्छ । यहि कारणले गर्दा विदेशबाट नेपाल फर्केका र अरु कृषक दाजुभाइ दिदि बहिनीहरुले यसको व्यवसायिक खेतीमा बढि आकर्षित हुनु भएको पाइन्छ ।
विभिन्न भौगोलिक परिवेशमा बिभिन्न समयमा नेपालमा गोलभेँडाको खेती गर्दै आएको पाइन्छ । गोलभेँडाको राम्रो उत्पादन तथा उत्पादकत्व लिनका लागि हावापानीको महत्वपूर्ण भूमिका रहन्छ । यसले बढि चिसो र बढी तातो सहन गर्न सक्दैन । यसका लागि उपयुक्त तापक्रम २४-२७ डि.से. सबैभन्दा उत्तम रहन्छ । यसले तुषारो र अत्याधिक गर्मी पनि सहन गर्न सक्दैन । त्यसैले नेपालको मध्यपहाडि क्षेत्रमा बर्षात साउन भाद्र देखि मंसिर सम्म बाली लिन सकिन्छ भने मध्यपहाडमै अर्को उत्तम समय फागुन चैत्रमा रोपेर भाद्रसम्म वा संरक्षित संरचना भित्र फागुन चैत्र देखि मंसिर सम्म बाली लिन सकिन्छ । त्यसैले मध्यपहाडमा ८००-१३०० मि उचाइसम्म पुष र माघ महिना बाहेक बर्षभरी वा ( फागुन देखि मंसिरसम्म) र तराइ ८०० मि भन्दा तल हिंउदमा (असोज कार्तिक देखि फागुन सम्म) र उच्च पहाडमा चैत्र बैशाख देखि भाद्रसम्ममा यसको खेती गर्न सकिन्छ ।
यसको खेतीका लागि राम्रो उमारशक्ति भएको (७०% भन्दा बढि उमारशक्ति भएको) बीउ १ रोपनी जमिनका लागि ७ ग्राम भए पर्याप्त हुन्छ । राम्रो सेचनक्रिया सम्पन्न पोटिलो १ ग्राम बीउमा १८०-२०० दाना हुने गर्दछन् । ६० वर्ग मिटर क्षेत्रफलको संरक्षित संरचना भित्र १५४ वटा बोट (लहरामा जाने गोलभेँडाका जातहरु जस्तै सिर्जना मनिषा आदि) लगाउन सकिन्छ । नर्सरी बेड तयार गर्दा सकेसम्म रोगकिराको संक्रमण रहित बनाउन सकेको खण्डमा भावी बिरुवा स्वस्थ भइ मुख्य फिल्डमा रोगकिरामा लाग्ने लागत घटाउन सकिन्छ ।नर्सरी बेड आवश्यकतानुसार लम्बाईमा जति बढाएपनि चौडाइ १ मिटरको र २ ड्यांग बिचमा ३० से मि को बाटो ओहोरदोहोर गर्न र सिंचाइ तथा झारपात निकाल्न सजिलोको लागि राख्न पर्दछ । डढुवा जस्ता रोगको समयमै निदानका लागि सुरक्षात्मक बिषादीहरु मेन्कोजेव वा रोग लागि सकेको अवस्थामा क्रिल्याक्सिल वा कपरअक्सिक्लोराइड जस्ता बिषादिको सिफारिश मात्रा प्रयोग गर्नुपर्छ । खासगरी मौसममा अदलबदली भए , तापक्रम १०-२० डि.से मा रहेमा , घाम नलागि बादल वा सिमसिम पानी परिरहेको खण्डमा,शितलहर लागिरहेमा गोलभेँडामा डढुवाले आक्रमण गर्दछ । राम्ररी जोति सम्याएको नर्सरी फिल्डलाइ संभव भएसम्म हल्का सिंचाइ गरी पारदर्शी तर नच्यातिएको सफा प्लाष्टिकले २-३ हप्ता छोपिदिएर सोलराइजेशन गराउन सकेमा धेरैजसो रोगकिराबाट नर्सरीको बिरुवालाइ जोगाउन सकिन्छ । उपयुक्त तापक्रम र माटोमा पर्याप्त चिस्यान पुगेको खण्डमा नर्सरीमा बिउ रोपेको २२-२५ दिनमा बिरुवा ४-५ पाते भइ रोप्न लायक हुन्छन् । बेर्ना ३ पाते भएको अवस्थामा बिरुवालाइ थप शक्ति प्रदान गर्न र रोग प्रतिरोधात्मक क्षमता बृद्धिका निम्ति क्रान्ति वा न्यू लाइट १ एम एल/लि पानीमा मिलाइ प्रयोग गर्न सकिन्छ ।
बीउ रोपेको २५ दिनमा बेर्नालाइ मुख्य फिल्डमा रोप्नु पूर्व जमिनको राम्रो तयारी गर्नुपर्छ । एक रोपनी जमिनका लागि १५०० के जी राम्ररी पाकेको बुर्बुराउदो गोबर वा कम्पोष्ट मल , २०-२५ केजी चिउरी वा तोरीको पिना ,९०-१०० केजी कुखुराको सुली, ८-१० केजी डिएपि तथा ५ के जी पोटास तथा १/२ केजी बोरेक्स र जिंक जमिनको अन्तिम तयारी ताका प्रयोग गर्नुपर्छ । ५ के जी युरियालाई बाली अवधीभरका लागि पुग्ने गरी टुक्रा गरि पहिलोपटक फूल फुल्न थालेपछि (रोपेको ४२ दिनमा पहिलोपटक) र हरेक पटक फल टिपेपछि टपड्रेस गर्दा राम्रो नतिजा पाउन सकिन्छ । एक अध्ययन अनुसार १ के जि गोलभेडाले माटोबाट नाइट्रोजन ६.१ ग्राम, फस्फोरस ७ ग्राम,पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम लिएर जान्छ । एक रिपोर्टका अनुसार यदि ३० टन गोलभेडा फलाउनु छ भने =३०X२.४= ७२ के जी, नाईट्रोजन ७२X०.३५=२५.२ केजी फस्फोरस र ७२x१.४५ = १०४.४ के जी पोटास प्रति हेक्टरका दरले हाल्नुपर्दछ।
गोलभेडा बृद्धि संरचना २ प्रकारको हुने गर्छ । छिमलमा फल्ने र लहरिएर जाने । छिमलमा फल्ने जात जस्तै मनप्रेकस , पुषा रुवी आदिमा काटछाँटको आवश्यकता नपर्ने र तिनमा पात र फलको वृद्धि विन्यास एकनाशको नहुने हुंदा प्राय रोगी पात मात्र काट्न सकिन्छ र चोर हांगालाइ पनि खासै केहि गरिँदैन । तर लहरामा फल्ने जातहरु जस्तै सिर्जना, मनिषा आदि जातहरुमा पात र फलको विन्यास हरेक ३ पात पछि फलको झुप्पो लाग्ने र पातको बिचबाट चोरहांगाहरु आइरहने हुँदा यी चोरहांगाहरुले बिरुवालाइ प्रदान गरेको पानी, प्रकाश तथा पोषक तत्व लिने हुंदा समयमा नै तिनलाइ हटाउदै जानुपर्छ । यस्ता लहरामा फल्ने गोलभेडाको फललाइ छोपेको पातलाइ फल नटिपुन्जेल सम्म भरसक काट्नु हुँदैन किन कि बिरुवामा पात बाहेक सबै भागहरु खन्चुवा भाग हुन् । पातलाइ फल नटिप्दै काटि हटाएमा उत्पादनमा असर गर्ने गर्छ । फल टिपेपछि भने फलको झुप्पो अड्याएको भाग समेत काटि हटाउनुपर्छ । लहरामा फल्ने गोलभेडामा जातअनुसार ४५-६० से.मि को उचाइबाट प्राकृतिक रुपमा मोटा हांगाहरु V आकारमा छुट्टिएर जाने गर्दछन् । यस पछि भने ती २ हांगाहरु भन्दा तलका सबै सहायक हांगालाइ हटाएर ती बलिया हांगाहरुलाइ मलिलो माटो भए अरु २/२ वटा सहायक हांगाको रुपमा र यदि मल ठीकठीकै अवस्थामा भए २ वटा हाँगालाइ अगाडि बढाउदै फलाउदै लैजानुपर्छ ।
आजभोलि लहरामा जाने गोलभेडाका लागि टेका दिनका लागि प्लाष्टिक को डोरी प्रयोगमा ल्याउने चलन छ र गाउघरमा अझैपनि बांस वा काठका मसिना झेक्राहरु प्रयोगमा ल्याइएको पाइन्छ । यसरी बांस प्रयोग गर्दा बोटलाइ चोट नपुग्ने गरी मुलायम भागलाइ बोटपट्टी पार्नुपर्छ । बजारमा टमाटो स्ट्याप्लर पनि आएका छन् । यसलाइ प्रयोग गर्न अरु सजिलो छ । यसका लागि संरक्षित संरचनाको चारैतर्फ स्टिलको तार बांधेर उक्त तारमा बलियो नाइलन वा प्लाष्टिकको डोरी बांधिकन उक्त डोरीलाइ बिरुवाको फेदमा एउटा गांठो पारेपछी बिरुवाको बृद्धि संगै स्टिच लगाएर बोटलाइ अड्याउन वा तालिम दिन सकिन्छ । यसको प्रयोग गर्दा डोरी र डांठलाइ फिताले भित्र लपेटेर कागजलाइ स्टिच गरे जस्तै गर्न सकिने हुंदा काम गर्न सजिलो हुन्छ । क्लिपर प्रयोग गर्दा जस्तो झंझटिलो हुदैन ।
गोलभेडाले राम्रो उत्पादन लिनका लागि सूर्यको प्रकाश, कार्वनडाइअक्साइड तथा मल एवं पानीको नितान्त जरुरी पर्दछ । तसर्थ संरक्षित संरचना भित्र खेती गर्दा सकेसम्म सापेक्षित आद्रता ६५-७० प्रतिशत कायम गर्ने, माटोमा चिस्यान नियमित राख्ने , कार्वनडाइअक्साइडको अवस्था थाहा पाउनका लागि टनेल भित्र एक धागो बाधिदिने र म्याक्सिमम मिनिमम थर्मामिटर राख्ने तथा बालीले ढाकेको बाहेकको टनेलको बांकी क्षेत्र कम्तमा ४० % स्थान खुल्ला छाड्ने गर्दा उत्पादनमा सकारात्मक नतिजा पाउन सकिन्छ ।
गोलभेँडाको निरीक्षण गर्दाका बखत बोटको डांठलाइ हत्केलाको उल्टोभाग (जुन भागमा हस्तरेखा छैनन) ले छुंदा यदि चिसो अनुभव भएको खण्डमा बिरुवाले राम्रोसंग परवहन गरेको र स्वस्थ वातारण रहेको हुन्छ । यदि त्यसरी हत्केलाले छुंदा तातो अनुभव भएमा बिरुवामा गडबढी हुने संभावना रहन्छ, या त बढि तापक्रमले बिरुवामा बढि पानीको क्षय भएको छ वा शारिरीक संरचना या रोग किरा ले बिरुवालाइ आक्रान्त पार्दैछ भन्ने अड्कल गर्न सकिन्छ । बिरुवा आफै बोल्दछन् बश् हामीले तिनको भाषा बुझ्न सक्नुपर्छ । जस्तो बढी तापक्रम, बढि पानी वा मल भएको खण्डमा पातहरु तलतिर लत्रिन्छन् । कम मल वा पानी भएमा पातहरु माथितिर फैलिन्छन् भने उपयुक्त मल पानी पाएको बिरुवाका पातहरु सामान्यतया डांठसंग समानान्तर भएर जाने गर्दछन् । यदि फस्फोरस (डि ए पि) बढि प्रयोग गरिएको अवस्थामा पातबाट हांगा निस्कन्छन् तसर्थ मलको पनि सहि सदुपयोग गर्न आवश्यक हुन्छ ।
सामान्यतया प्राथमिक तत्वहरु नाइट्रोजन फस्फोरस तथा पोटासको कमिका लक्षणहरु बिरुवाको तलका पातहरुले देखाउछन् भने माध्यमिक तत्वहरुको कमिका लक्षणहरु बिरुवाको मध्यम क्षेत्रका पातहरुमा देखा पर्छ । त्यस्तै शुक्ष्मतत्वहरु बोरोन जिंक मोलिब्डेनम कपर आइरन आदि तत्वहरुको कमिका लक्षणहरु बोटका सबैभन्दा कलिला र टुप्पाका पातहरुमा देखा पर्ने हुँदा फल टिपेपछि शुक्ष्मतत्वको पूर्तिका लागि २ एम एल क्रान्ति/ लि पानीमा मिलाइ स्प्रे गर्दा राम्रो नतिजा पाउन सकिन्छ ।
बीउ उत्पादनका लागि गोलभेडाको टिपाइ पूर्णत पाकेपछि (सामान्य तापक्रममा क्रसिंग गरेको ४५ दिनपछि) मात्र गर्नुपर्छ । यदि फल पूर्णत रातो नहुदै टिपेमा भ्रुण परिपक्क हुन पाउदैन र बोटको व्यवसायिक अवधि घट्न जान्छ । ९ महिना सम्म टिक्ने बोट ६ महिनामै फाल्न पर्ने हुन्छ । तर खायनका लागि भने बजारको अवस्था र दुरी बिचार गरी फलको आकार प्रकार रंग चढाइ वा हल्का पहेलो वा रातो टर्निंग स्टेज तथा भित्रको बीउ नकाटिने अवस्थामा समेत टिप्दा फरक पर्दैन ।
बजारमा टमाटरको भाउ छैन र केहि समय बोटमा नै राख्न सकेको खण्डमा १५-२० दिन पछि राम्रो भाउ पाउन सकिने अवस्था छ भने क्याल्सियम क्लोराइडलाइ स्प्रे गर्दा डिलो पकाउन सकिन्छ । यसको मात्रा १ ग्राम/लिटर सम्म प्रयोग गर्न सकिन्छ । यसलाइ सोझै बोटभिज्ने गरि स्प्रे गर्नुपर्छ तर क्याल्सियम क्लोराइड सकेसम्म घाम अस्ताएपछि प्रयोग गर्दा राम्रो हुन्छ । यसको प्रयोगले गोलभेंडाको टुप्पो कुहिने समस्यालइ समेत निराकरण गर्न मद्दत पुग्दछ । यदि टमाटर बजारमा अभाव छ र छिटो सप्लाइ गर्न सके भाउ पाइने देखिन्छ भने इथेफोन को प्रयोग ले छिटो पकाउन सकिन्छ ।
टनेलमा बिरुवाको orientation का लागि बेड बनाउंदा सकेसम्म सूर्यको प्रकाशले एक बोटले अर्को बोटलाइ नछेक्ने गरि बेडको orientation बनाउदा राम्रो हुन्छ । सामान्यतया बेडलाइ पूर्व पश्चिम भन्दा उत्तर दक्षिण बनाउदा बोटमा प्रकाशको फैलावट राम्रो हुन पुगि उत्पादनमा सकारात्मक प्रभाव पर्दछ ।
सबैभन्दा पहिले ड्रिप लाइन बिस्तार गरि त्यस माथिबाट प्लाष्टिक मल्चको प्रयोग गर्नुपर्छ । एक ड्यांग देखि अर्को ड्यांगको दुरि ९०-१०० से मि कायम गरि २ ड्यांगको बिचमा ४० सेमि को बाटो छोडि बोट देखि बोटको दुरी ३०-४० से मि कायम गर्दा राम्रो नतिजा पाउन सकिन्छ ।ड्रिप लाइन प्रयोग गर्नुको उद्देश्य सिंचाइका साथमा घुलनशिल मल र बिषादि समेत दिनका लागि भएकाले यसको उचित प्रयोग हुन आवश्यक छ , अन्यथा ड्रिपबाट भरपुर फाइदा लिन सकिदैन उद्देश्य पुरा हुदैन ।
टनेलभित्र टुटा , हेलिकोभर्पा ,सेतो झिंगा तथा निमाटोडले बेलाबेला दुख दिइरहने हुंदा यी किराको व्यवस्थापनका लागि मोहिनि पासो तथा पहेलो स्टिकी पासो र क्षतिको आधारमा बिषादिको समेत प्रयोग गर्नु जरुरी हुन्छ । सबै भन्दा हानिकारक किरा टुटाका लागि टुटालुर एक टनेलमा ३-४ वटा प्रयोग गर्ने र Yellow Trap ५-७ वटा प्रयोग गर्ने तथा लुरलाइ हरेक ४५ दिनमा फेर्नुपर्छ । लुर प्रयोग गर्दा सोलिमा सर्फ पानीलाइ घट्न नदिइ नियमित राख्नुपर्छ । यदाकदा माइटको समस्या भएमा निलो ट्रयाप पनि एक टनेलमा २ वटा राख्दा पुग्छ । टुटामा बिषादि प्रयोग गर्दा इमामेक्टनि बेन्जोएट, इमिडाक्लोप्रिड वा स्पिनोस्याडको सिफारिश मात्रा एक पछि अर्को प्रयोग गर्नुपर्छ तर एकैखाले बिषादि लगातार वा सबै बिषादि मिलाएर कक्टेल बनाएर प्रयोग कदापि गर्नु हुदैन । यसो गर्दा बचेका किराका सन्ततिमा बिषादि पचाउने अभूतपूर्व शक्तिको बिकास भइ त्यो भन्दा पनि कडा बिषादि आवश्यक पर्ने हुन्छ जुन वातावरण तथा आर्थिकका हिसाबले पनि घातक हुन पुग्छ ।
निमाटोड गोलभेडाको पनि महान शत्रुजीव भएको र यो प्राय बोट लगाएको ३-४ महिनामा यसको क्षति बढि देखा पर्न शुरु गर्छ । यसको निदानका लागि पानी पटाउने , तोरो वा सयपत्री लगाएर जोतिदिने , माटोको उपचार गर्ने , माटो परिक्षण गरि पि एच सन्तुलनमा राख्ने , बाली लगाउनुपूर्व माटोमा चिउरीको पिना र दैहिक बिषादि र केहि चुना समेत मिलाइ हलुका सिंचाइ गरि जमिन जोतेर २१ दिन सम्म पारदर्शि प्लाष्टिक ले छोपिदिने गर्न सकिन्छ । यदि खडा बालीमा निमाटोडको संक्रमण भइ जरा ध्वस्त पारेको अवस्थामा गोबरमलको लेदोले गोलभेंडाको डांठलाइ जमिनमा सुताएर बाक्लो छापोजस्तै लेदोले ढाकिदिएको खण्डमा गोलभेंडाको डांठबाट सहायक जरा आइ बोटलाइ बचाउन सजिलै सकिन्छ । यसबाट तत्कालका लागि उत्पादन लिनका लागि बाधा पर्दैन ।
गोलभेंडाको लागि सबैभन्दा महत्वपूर्ण तत्व मध्ये एक क्याल्सियम पनि हो । किनकि १ के जि गोलभेंडाले ६.५ ग्राम क्याल्सियम माटोबाट तानेर लैजान्छ । फेरि बिरुवाको प्रणालीमा क्याल्सियम अचल तत्वको रुपमा रहन्छ । यो पानीको माध्यमबाट बिरुवाको परिवहन प्रणालीमा जान्छ । यदि माटोमा चिस्यान नियमित रहेमा क्याल्सियमको कमिको खासै लक्षण देखिदैन तर यदि माटोमा चिस्यानको घटिबढि हुन थालेमा क्याल्सियम बिरुवाको डांठमा रोकिन पुग्छ र टुप्पोमा पुग्न पाउदैन । फलत गोलभेंडाको फलको टुप्पोमा पहिले सेतो पानीको फोका जस्तो मसिना बबल जस्ता संरचना देखा पर्छन् र यदि सुख्खापन कायमै रहेमा माटोमा क्याल्सियम उपलब्ध भएता पनि टुप्पो कुहिने समस्या (Blossom End Rot) देखा परिरहन्छ । तसर्थ माटोमा कम्तिमा चिस्यान २५-३० प्रतिशत कायम भैरहनु जरुरी हुन्छ । यदि Blossom End Rot एक पटक देखा पर्यो भने चिलेटेड क्याल्सियमको तुरुन्त स्प्रे गर्ने वा क्याल्सियम क्लोराइड स्प्रो गर्नु पर्छ ।
कहिलेकाहीँ गर्मी मौसममा गोलभेँडाको संरक्षित संरचना भित्रखेति गर्दा बढि तापक्रमले गर्दा फूल झर्ने र फल नलाग्ने समस्या देखिन्छ । यस्तो हुन बाट जोगिनका लागि सकेसम्म गोलभेडा लगाउदा उपयुक्त सिजनमा मात्र लगाउने र यदि बोट लगाइसकेको अवस्था छ र फूल झरिरहेको छ फल लाग्न टिक्न सकेको छैन भने स्प्रेयरलाइ ४-५ पटक सफा पानीले धोइ पखालि गरी पानी टनेल भित्र बोट भिज्ने गरी स्प्रे गर्ने र टनेलको तापक्रमलाइ कम गर्ने प्रयाश गर्ने । टनेल का साइडका प्लाष्टिक हरु खोलिदिने गर्नुपर्छ । यहांनेर बिषादि हरुको समिश्रण भैरहेको पानी यदि बोटमा पर्न गएमा (खास गरि हर्विसाइड र अन्य इन्सेक्टिसाइड तथा फन्गिसाइड) बोटलाइ Albinism हुने गर्दछ । Albinism ले बिरुवाको उत्पादनमा असर नगरेता पनि Morphology मा भने मानिसमा दुबी आए जस्तो नराम्रो देखिन्छ ।
यदि ठूलो क्षेत्रफलमा गोलभेंडा लगाइएको छ र तापक्रम अत्याधिक बढि छ र कुनै पनि अवस्थामा पानीको बिकल्प छैन दिन मिल्ने भने उक्त अवस्थामा बिरुवालाइ तत्कालका लागि बचाउन बिरुवाका १/२ भन्दा बढि पातहरु काट्न सकेमा बिरुवालाइ पानीको परवहन क्षतिबाट बचाउन सकिन्छ । अन्य अवस्थामा भने बिरुवाको पात काट्नु घातक सिद्ध हुन्छ ।
गोलभेंडाको अति नै राम्रो हाइब्रीड जात उपलब्ध भएको अवस्था छ तर त्यसको बीउ बनाउन नसकिने हुंदा त्यस्तो अवस्थामा गोलभेडाको वानस्पतिक बृद्दि गरि उत्पादनका लागि बिरुवा बनाइरहन सकिन्छ । गोलभेडाको Axillary shoot cuttingका लागि हाइड्रोपोनिक मिडिया वा बालुवा वा स्टेरेलाइज्ड माटो जुनसुकै मा पनि जरा आउन सक्छ । जरा निकाल्नका लागि गर्मी महिनामा हो भने १४-१५ दिन र जाडो महिनामा हो भने २२ दिन भित्र सहायक जरा निकाल्न सकिन्छ र उक्त स्टिम कटिंगले माउ बोटले जस्तै उत्पादन दिन्छ । भर्खर फुल्न लागेको बोटबाट १०-१५ से मि का चोरहांगा लिने र तिनमा भएका टुप्पोका २ पात बांकि राखेर सबै पातहरु (पानीको परिवहन क्षति कम गर्न) हटाउने र सामान्य बालुवा वा माटोमा छड्के पारेर रोप्ने र दिनहु पानी दिने । १५-२२ दिनमा राम्रो जरा पलाएपछि मुख्य खेतमा रोप्न सकिन्छ । खास गरी मनिमेकर जस्ता १ ग्राम बीउ कै ७२ $ मुल्य पर्ने बीउहरुमा यस्तो प्रविधि अपनाउन सकिन्छ ।यसमा ख्याल गर्नुपर्ने कुरा के छ भने यसरी कटिंगबाट फलेका शुरुका फलहरु साना लाग्ने तर पछिका झुप्पाहरु भने सामान्य आकारका नै हुने गर्दछन । शुरुका फल सानो लाग्नुको कारण नेट फोटोसिन्थटको कमि हुन सक्ने देखिन्छ ।
- लेखक डोल राज पाण्डे आलुबाली विकास केन्द्र, निगालेका वागवानी विकास अधिकृत हुन् ।
पुस १६, २०८१ ०२:४९ मा प्रकाशित