काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मा विरुद्ध हालसम्मकै ठूलो सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर हुने भएको छ ।
शर्मा र उनको कम्पनी विरुद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित झण्डै एक खर्ब रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने निर्णय भएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ ।
मुद्दा चलाउने निर्णयसँगै अनुसन्धान प्रतिवेदन लिएर भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको विभागका महानिर्देशक पुष्पराज शाहीले सिधाकुरालाई बताए ।
‘केदारनाथ शर्मालाई मुद्दा चलाउने निर्णय भएको छ । केही बेरमा मुद्दा दर्ता हुन्छ । शर्मा र उनको कम्पनीसमेतलाई विपक्षी बनाएर ३२ अर्ब ९० करोड रुपैयाँ बिगो कायम गरिएको छ,’ महानिर्देशक शाहीले भने,‘ व्यक्तिको हकमा दोब्बर र कम्पनीको हकमा तीन गुणा जरिवाना हुने भएकाले झण्डै एक खर्ब रुपैयाँ बराबरको दाबी विभागले गरेको छ ।’
सम्पत्ति शुद्धिकरणको अभियोगमा शर्मा विरुद्ध मुद्दा लगाउनु पर्ने रायसहितको प्रतिवेदन भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको पनि विभागले जनाएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।