नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ मा शक्ति प्रदर्शन गरेर काठमाडौँ फोहोर मात्र हुने बताए ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँलाई इंगित गर्दै प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको र उक्त प्रदर्शनले काठमाडौँ फोहोर हुने बाहेक केही नहुने बताए ।
उनले भने, ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन्। राष्ट्रपति बनेको एक वर्षको अवधि नपुग्दै राष्ट्रपति पौडेलले कांग्रेस भएर तनहुँ पुगेर अलोकतान्त्रिकता र पक्षपातपूर्ण व्यवहार देखाएको उनले बताए ।
‘राष्ट्रपतिज्यूले तनहुँ गएर घन्टीको यत्रो बिगबिगि भएको बेलामा कांग्रेसलाई भोट दिएकोमा मतदातालाई धन्यवाद भन्नुभयो।’, उनले भने, ‘रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो। कति निष्पक्ष राष्ट्रपति होला? उहाँको निष्पक्षताको कुरा त गर्दै नगरौं। थुप्रै कुराहरू आइसकेका छन्’।