काठमाडाैँ । संसद्को महासचिव नियुक्ति प्रक्रिया सितलनिवासमा अड्किएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई पत्र लेखेका छन्।
गत मंसिर २५ गते तत्कालीन महासचिव डा भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस लामो समयदेखि अड्किएका कारण उनीहरुले लिखित रुपमै राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखेका हुन् ।
आफूहरुले सिफारिसका लागि पत्र पठाएपनि राष्ट्रपतिले त्यस सम्बन्धी कुनै निर्णय नगरेको भन्दै उनीहरुले माघ ४ मा पुनः राष्ट्रपतिलाई पत्र लेखेका हुन् ।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस गरिएको थियो ।