काठमाडौँ । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केहि समय देखि विवाद चलिरहेको छ । गत गत माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलि लागि ४ जना घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।
नो केबलकार समूहले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने जनाइएको छ । सोही क्रममा आज मुक्कुम्लुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा पनि प्रदर्शन गरेको छ । उनीहरुले त्यही विषयमा आधारित सडक नाटक समेत देखाएका छन्।