काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए ।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गणलगाएतको उपस्थीति रहेको थियो ।
श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।