काठमाडाैँ । विपद्को मुखमै सरकारले बाढी पहिरो प्रभावित २ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । जोखिमको पूर्वसूचना हुँदाहुँदै पर्याप्त तयारी नगरेको र सवारी साधन सन्चालनमा रोक नलगाएको भन्दै सरकारले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानेको हो ।
गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई हटाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई जिम्मेवारी दिएको छ भने काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको स्थानमा गृह मन्त्रालयकै सहसचिव उमेश ढकाललाई पठाएको छ ।
३ दिनसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । जसमा धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा परि ३५ यात्रुको मृत्यु भएको थियो ।